यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
Kebal Chhetri
Writer at Bhutan Khabar

यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, सायद अर्को Saturday। तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र? त्यतिबेलासम्म सुनिदिने कोही नभएर दुःख भित्रभित्रै थन्किँदै जान सक्छ। कहिलेकाहीँ त्यो Saturday आउनुअघि नै कसैको जीवनको यात्रा समाप्त भइसकेको पनि हुन सक्छ। त्यसैले “म busy छु” भन्नुअघि कहिलेकाहीँ “तिमी साँच्चै ठीक छौ?” भनेर सोधौँ।
हामी त्यही पुस्ता हौँ, जसले स्कुल कलेजमा एउटै कथा वा कविताको किताब दसौँ जना साथीबीच पालैपालो बाँडेर पढ्यौँ। आफ्नो पालो कहिले आउला भनेर पर्खियौँ, किताब हात परेपछि राति अबेरसम्म पढेर भोलिपल्ट अर्को साथीलाई दियौँ। “बाँडीचुँडी खाए मिठो, मिलीजुली बसे राम्रो” भन्ने संस्कारमा हुर्किएको हाम्रो पुस्ता हो। आज हातमा संसारभरको ज्ञान छ, तर केही मिनेट शान्त भएर पढ्ने समय कम भएको छ। त्यसैले आज यो लेखलाई पनि त्यही पुरानो साझा किताब सम्झेर केही समय दिनुहोला। किनकि यो मेरो मात्रै कथा होइन। अमेरिकामा वर्षौँदेखि जीवनको दौडमा दौडिरहेका हामी धेरैको कथा हो। पढ्दै जाँदा कुनै हरफमा तपाईंले आफ्नै घर, आफ्नै श्रीमान् वा श्रीमती, आफ्नै आमाबुबा, आफ्नै छोराछोरी र सायद ऐनामा नदेखिएको आफ्नै थाकेको मन भेट्नुहुनेछ।
हामी अमेरिका आयौँ, कसैले अवसर खोज्दै, कसैले सुरक्षाका लागि, कसैले आफ्ना सन्तानको भविष्यका लागि। यो देशले हामीलाई धेरै कुरा दिएको छ। मेहनत गर्नेका लागि काम छ, व्यवसाय गर्ने ठाउँ छ, पढ्ने अवसर छ, नयाँ कुरा सिक्ने स्रोत छ र अगाडि बढ्न खुला आकाश छ। सही बाटो पहिल्याउन सक्यौँ र उपलब्ध स्रोत प्रयोग गर्न जान्यौँ भने “Sky is the limit” भन्ने कुरा हामीमध्ये धेरैले आफ्नै जीवनमा प्रमाणित गरेका छौँ। शून्यबाट सुरु गरेर घर किन्यौँ, व्यवसाय बनायौँ, छोराछोरीलाई राम्रो शिक्षा दियौँ र कुनै समय सपनाजस्ता लाग्ने धेरै कुरा हासिल गर्यौँ। “मेहनतको फल मिठो हुन्छ” भन्ने कुरा अमेरिकाले हामीलाई सिकायो। तर वर्षौँपछि आफ्नै जीवन फर्केर हेर्दा अर्को प्रश्न पनि उठ्छ, यति धेरै कुरा पाउँदापाउँदै हामीले के के गुमायौँ? Mortgage, rent, car payment, insurance, utilities, childcare, taxes र दैनिक खर्चका अदृश्य बारहरूले कहिलेकाहीँ यो सुन्दर र अवसरले भरिएको देशलाई हाम्रो जीवनमा एउटा “सुनको पिँजडा” बनाइदिन्छन्। पिँजडा सुन्दर छ, सुविधा सबै छन्, आकाश पनि देखिन्छ, तर मनले चाहेको बेला उड्न सकिँदैन।
सायद यो दृश्य तपाईंको घरमा पनि देखिएको छ। गर्भमा बच्चा बोकेकी आमा delivery को दिन नजिकिँदासम्म काम गरिरहेकी हुन्छिन्। शरीर भारी छ, कम्मर दुखेको छ, निद्रा छैन, खुट्टा सुन्निएका छन्, तर mortgage रोकिँदैन, rent रोकिँदैन, car payment, insurance र घरखर्च रोकिँदैन। बच्चा संसारमा आउन लागेको खुसीसँगै मनमा हिसाब चलिरहेको हुन्छ, “काम रोकियो भने घर कसरी चल्छ?” ठूलो surgery पछि पनि शरीरले “अझै आराम गर” भनिरहेको हुन्छ, तर केही हप्ता आम्दानी रोकिएपछि bank account ले “अब उठ” भन्न थाल्छ। शरीरको घाउ अझै दुखिरहेको हुन्छ, तर फेरि काममा फर्किनुपर्छ। आखिर “पेटले बिदा मान्दैन।” कहिलेकाहीँ अस्पतालको bracelet हातबाट हटेको धेरै भएको हुँदैन, तर हातले फेरि काम समातिसकेको हुन्छ। शरीरले विश्राम खोजिरहेको हुन्छ, तर जीवनको हिसाबकिताबले विश्राम दिँदैन।
अनि आफ्नै मान्छे गुमाउँदाको पीडा? आमा वा बुबा बित्नुभयो, श्रीमान् वा श्रीमती गुम्यो, सन्तान वा नजिकको आफन्त गुम्यो भने हाम्रो संसार केही समयका लागि त्यहीँ रोकिएजस्तो हुन्छ। फोनको अर्को छेउबाट आएको एउटा खबरले जीवनलाई “पहिले” र “पछि” मा विभाजन गरिदिन्छ। अन्तिम संस्कार सकिन्छ, मानिसहरू फर्किन्छन्, समवेदना दिने फोनहरू बिस्तारै कम हुन्छन्, तर मनको शोक कहाँ सकिएको हुन्छ र? तैपनि mortgage को मिति सर्दैन, car payment ले हाम्रो शोक बुझ्दैन, utility bill लाई हाम्रो आँसु थाहा हुँदैन। केही दिन वा बढीमा केही हप्तापछि फेरि काममा फर्किनुपर्छ। मन अझै आमाबुबाको सम्झनामा रोइरहेको हुन्छ, शरीर workplace मा उभिएको हुन्छ। अनि बिहान सहकर्मी वा customer ले सामान्य रूपमा सोध्छ, “How are you?” हामी आँखाभित्रको पीडा लुकाएर मुस्कुराउँछौँ र भन्छौँ, “Very good, sir. How are you?” कस्तो विडम्बना! हिजो जसलाई गुमाएर रातभरि रोयौँ, आज त्यही मनले संसारलाई “I am very good” भन्न सिक्नुपर्छ। नेपालीमा भनिन्छ, “मनको घाउ आँखाले देख्दैन।” अमेरिकाको व्यस्त जीवनमा कहिलेकाहीँ हामी त्यही नदेखिने घाउ बोकेर दिनभरि मुस्कुराइरहेका हुन्छौँ।
वर्षौँपछि नेपाल, भुटान वा अर्को देशबाट आमाबुबा हामीलाई भेट्न आउनुहुन्छ। Airport मा अँगालो हाल्दा लाग्छ, अब धेरै कुरा गरौँला, कतै घुमाउन लैजाऔँला, नातिनातिनासँग बस्नुहोला। केही दिन छुट्टी मिलाएर दुई चार ठाउँ घुमाउँछौँ, फोटो खिच्छौँ, Facebook मा खुसीका तस्वीर राख्छौँ अनि फेरि Monday आउँछ। हामी काममा जान्छौँ र उहाँहरू घरमा बस्नुहुन्छ। घर राम्रो छ, खाना छ, TV छ, फोन छ, AC/heat छ, सबै सुविधा छ। तर आफ्नै इच्छाले चौतारो जान पाइँदैन, छिमेकीकहाँ पस्न सकिँदैन, बजारतिर हिँडेर निस्कन सकिँदैन। गाडी चलाउन आउँदैन, ठाउँ थाहा हुँदैन र बाहिर निस्कन हाम्रो ride पर्खिनुपर्छ। सुनको पिँजडाभित्रको सुगालाई दाना र पानीको कमी हुँदैन, कमी हुन्छ खुला आकाशको। कहिलेकाहीँ उहाँहरू झ्यालबाट बाहिर हेर्दै दिन गन्नुहुन्छ, “आज कतै लैजान्छन् कि? यो weekend बाहिर निस्कन पाइन्छ कि?” हामी उहाँहरूलाई माया नगरेर होइन, हामी आफैँ समयको चक्रमा बाँधिएका छौँ। उहाँहरूसँग भन्नका लागि जीवनभरिका हजारौँ कथा छन्, तर हामीसँग सुन्नका लागि आधा घण्टा निकाल्न पनि संघर्ष हुन्छ।
अझ गहिरो दूरी एउटै घरभित्र देखिन्छ। कतिपय घरमा श्रीमान् बिहान काममा जान्छन्, श्रीमती बच्चासँग बस्छिन्। श्रीमान् फर्किएपछि श्रीमती evening वा night shift मा निस्किन्छिन्। एउटै घर, एउटै bedroom, एउटै परिवार, तर राम्रोसँग बसेर कुरा गर्ने समय कहिलेकाहीँ हप्तामा एकपटक मात्र आउँछ। सँगै जीवन बिताउने वाचा गरेका दुई मानिसलाई सँगै बस्न पनि schedule मिलाउनुपर्ने हुन्छ। त्यही घरमा तीन पुस्ता बस्छन्। हजुरबा हजुरआमासँग नेपालीमा भन्नका लागि गाउँका कथा, दुःखका कथा, चाडपर्व, संस्कार, संघर्ष र इतिहास छन्। तर नातिनातिनाको संसार अंग्रेजीमा चल्छ। उनीहरूले नेपाली बुझ्छन्, केही बोल्छन् पनि, तर हजुरबा हजुरआमाको भावनाको गहिराइसम्म पुगेर घण्टौँ कुरा गर्न कठिन हुन्छ। “भाषा भनेको शब्द मात्र होइन, पुस्तालाई जोड्ने पुल हो।” त्यो पुल कमजोर हुँदा एउटै sofa मा बसेका हजुरबा र नाति पनि कहिलेकाहीँ दुई देश टाढा बसेजस्ता हुन्छन्। यसमा बच्चाको दोष छैन। हामी आमाबुबा स्वयं काम, overtime, business, bills, school र appointments मा यति दौडियौँ कि उनीहरूको भविष्य बनाउँदाबनाउँदै आफ्नो भाषा, संस्कृति, धर्म, इतिहास र जीवनका कथा उनीहरूसम्म पुर्याउन चाहेजति समय पाएनौँ। हामीले उनीहरूको भोलि बनायौँ, तर कतै त्यसै क्रममा आफ्नो हिजो उनीहरूको हातबाट छुटाउँदै त गएनौँ?
हामी आफैँ पनि कहाँ कम एक्ला छौँ र? घर छ, गाडी छ, जागिर वा व्यवसाय छ, फोनमा सयौँ contacts छन्, Facebook मा हजारौँ साथी हुन सक्छन्, तर कुनै साँझ मन असाध्यै भारी हुँदा तुरुन्तै गएर एक कप चिया खाँदै दुई घण्टा मन खोलेर बोल्ने मानिस नहुन सक्छ। पहिले दुःख पर्दा साथीको ढोका ढकढक्याउन appointment चाहिँदैनथ्यो। यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र? त्यतिबेलासम्म सुनिदिने कोही नभएर दुःख भित्रभित्रै थन्किँदै जान सक्छ। कहिलेकाहीँ त्यो Saturday आउनुअघि नै कसैको जीवनको यात्रा समाप्त भइसकेको पनि हुन सक्छ। त्यसैले “म busy छु” भन्नुअघि कहिलेकाहीँ “तिमी साँच्चै ठीक छौ?” भनेर सोधौँ। किनकि डुबिरहेको मानिसले सधैँ ठूलो स्वरले सहायता माग्दैन। कहिलेकाहीँ उसको “म ठीक छु” भित्रै सबैभन्दा ठूलो पीडा लुकेको हुन्छ।
हामीमध्ये धेरैको बाहिरी जीवन सफल देखिन्छ। ठूलो घर, राम्रो गाडी, जागिर वा व्यवसाय, बच्चाहरू राम्रो school वा college मा। Facebook मा मुस्कुराएका तस्वीरहरू छन्। तर तस्वीरले गर्भवती आमाको थकान देखाउँदैन, surgery पछि काममा फर्किएको शरीरको पीडा देखाउँदैन, आमाबुबा गुमाएर भोलिपल्ट “Very good, sir” भन्दै काम गरिरहेको मन देखाउँदैन। तस्वीरले फरक shift मा बाँडिएको पति पत्नीको जीवन देखाउँदैन, झ्यालबाट बाहिर हेर्दै छोरा घर फर्किने समय कुरेका वृद्ध बुबाको अनुहार देखाउँदैन, न त आफ्नै भाषामा नातिनातिनासँग लामो कुरा गर्न नपाएकी हजुरआमाको मौनता नै देखाउँछ। “देख्नेको आँखा हुन्छ, भोग्नेको मन।” त्यसैले यो अमेरिका विरुद्धको लेख होइन। यही देशले हामीलाई सुरक्षा, अवसर, शिक्षा, व्यवसाय गर्ने स्वतन्त्रता र हाम्रा सन्तानलाई ठूलो भविष्य दिएको छ, र त्यसका लागि हामी कृतज्ञ छौँ। यो त केवल हामी आफैँलाई देखाएको एउटा ऐना हो, अवसरको मूल्य तिर्दातिर्दै जीवन नै मूल्यका रूपमा नदिऔँ। सफलता bank account भरिनु मात्र होइन, मन भरिनु पनि हो। ठूलो घर हुनु मात्र होइन, त्यस घरमा आमाबुबासँग बसेर चिया पिउने समय हुनु पनि हो। बच्चालाई अंग्रेजीमा संसार जित्न सिकाऔँ, तर हजुरबा हजुरआमासँग नेपालीमा मन जोड्न पनि सिकाऔँ। पैसा कमाऔँ, तर आफ्ना मान्छे गुमाएर होइन। भविष्य बनाऔँ, तर वर्तमान समाप्त गरेर होइन। अमेरिकामा आकाश साँच्चै सीमा हो र हामी उड्नैपर्छ, तर कहिलेकाहीँ तल पनि हेरौँ। हाम्रा आमाबुबा हाम्रो समय पर्खिरहेका त छैनन्? श्रीमान् वा श्रीमती केही भन्न खोजिरहेका त छैनन्? कुनै साथी “म ठीक छु” भन्दै भित्रभित्रै टुटिरहेको त छैन? हाम्रा बच्चाहरू हाम्रो भाषा र संस्कृतिबाट टाढिँदै त छैनन्? अनि सबैका लागि दौडँदादौडँदै हामी आफैँलाई नै कतै हराइरहेका त छैनौँ? अन्तिममा कति overtime गर्यौँ वा कति पैसा छोड्यौँ भन्नेभन्दा कसको हात समात्यौँ, कसको दुःख सुन्यौँ र आफ्ना मानिससँग कति जीवन बाँच्यौँ भन्ने सम्झना बढी मूल्यवान हुनेछ। सायद यही हो हामी धेरैले बाँचेको अमेरिका, अवसरले भरिएको सुन्दर देश, तर समय र सम्बन्ध जोगाउन सकेनौँ भने बिस्तारै “सुनको पिँजडा” बन्न सक्ने जीवन। यो मेरो मात्र कथा होइन, सायद तपाईंको पनि हो, सायद हाम्रो हो।
Comments (0)
You need to be logged in to comment
Login to CommentNo comments yet. Be the first to comment!
Related Articles

"बालअधिकारसम्बन्धी महासन्धि (CRC) ले भन्छ— 'बालबालिका कुनै देश वा सीमाका मात्र हुँदैनन्, उनीहरू साझा हुन्।' तर विडम्बना, हाम्रो कोखबाट जन्मिएका निर्दोष बालबालिकाहरू सोझै शरणार्थी बनेर जन्मन बाध्य छन्।"



सांसद हर्क सम्पाङले संसदमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउन माग गरेका छन्। सभामुखले उनको माग स्वीकार नगरेपछि सम्पाङ बैठक छाडेर बाहिरिएका थिए। त्यसपछि उनले “यो देशमा दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह” भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवामा विशेष प्राथमिकता दिएको छ। बजेटमार्फत सडक, ऊर्जा, खानेपानी, आईटी र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्।



